बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।
राजापुर नगरपालिका–१ की ४० वर्षीया बालिका पुरीको भैंसी चराउन जंगलमा गएको समयमा हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।
बर्दियाका प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लका अनुसार पुरीको शव बिहीबार भेटिएको हो।
पोष्ट मार्टमको लागि शव जिल्ला अस्पताल पठाइएको डिएसपी मल्लले बताए। बुधबार दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भैंसी चराउन गएकी पुरीलाई जंगली हात्तीले लखेटेर आक्रमण गरेको थियो।
सँगै भैंसी चराउन गएका अन्य तीन चार जनाले भने भागेर ज्यान जोगाउन सफल भएको डिएसपी मल्लले बताए। भागेर ज्यान जोगाउन सफल स्थानीयको वयानका आधारमा जंगलमा गएर पुरीको खोजी गरिएको भए पनि फेला पार्न नसकेपछि बिहीबार बिहान फेरि खोजी गरिएको थियो।
स्थानीयका साथै वनका कर्मचारी र प्रहरीसहितको संयुक्त टोलीले बिहान शव फेला पारेको थियो।