झापाको बुद्धशान्ति-३ स्थित सयपत्री चोक पश्चिम रहेको पोखरीमा डुबेर बिहीबार साँझ एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुद्धशान्ति-३ का महानन्द शिक्षा सदनको कक्षा ७ मा अध्ययनरत् नितेष पौडेल रहेका छन्।
उनी र उनका साथी दिउँसो पौडी खेल्न भनी सो पोखरीमा गएको बताइएको छ।
उनीसँगै पोखरीमा डुबेका अर्का सुदन चौहनको भने उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बुधबारे जनाएको छ।
यसैबीच, झापा कमल-५ सितापुरी का ८ वर्षीय योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ।
बिहीबार बिहान ११ बजे उनी बुवासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाचिएर लाग्दा गम्भीर घाइते भएका थिए।
उनलाई दमक अस्पताल दमकमा पुर्याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।