बझाङ र अछाममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बिहीबार जयपृथ्वी नगरपालिका-६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिए।
उनी भारतको तामिललाडुबाट चैत्र २९ गते फर्केका थिए। जिल्ला अस्पताल बझाङको प्रयोगशालामा एन्टिजेन विधिबाट परीक्षण गर्दा वैशाख १ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
यस्तै, बिहीबार १५ दिनअघि भारतको गुजरातबाट अछाम फर्किएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
अछाम साँफेबगर नगरपालिका वडा नम्बर ६ भाग्यश्वरका ६५ वर्षीय पुरुषको जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशी बताए।
बुधबार बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो।