रूपन्देहीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार पुगेको छ। जनस्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शुक्रबार थपिएका नयाँ संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ हजार पुगेको हो।
शुक्रबार ७ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाभर १ हजार २ सय २१ जनाको स्वाब परीक्षण गर्दा ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो।
साथै पछिल्लो २४ घन्टामा जिल्लामा ११ जना संक्रमितको मृत्यु भएको छ। शुक्रबारसम्म मृत्यु हुने संक्रमितको संख्या पनि २ सय ४३ पुगेको कार्यालयको तथ्यांक छ।
शुक्रबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका मात्रै ३ सय ७१ जना छन्। त्यस्तै तिलोत्तमा नगरपालिकाका १ सय ३४, सिद्धार्थनगर नगरपालिकाका ८३, देवदह नगरपालिका ५०, सैनामैना नगरपालिका ५९ र शुद्धोधन गाउँपालिकामा १८ जना संक्रमित थपिएका छन्।
त्यस्तै मायादेवीमा १५, सियारीमा १४, कञ्चनमा ११, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८, ओमसतियामा ७ जना, कोटहीमाईमा ६, रोहिणीमा ४ तथा मर्चवारी र सम्मरीमाईमा एक-एक जना संक्रमित थपिएका छन्।