सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको कार्यकारी निर्देशक पदमा डा. पुकारचन्द्र श्रेष्ठ नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयले बिहीबार डा. श्रेष्ठलाई प्रत्यारोपण केन्द्रको निर्देशकको रुपमा पठाएको हो।
मन्त्रिपरिषदको असोज ५ गते बसेको बैठकले डा. श्रेष्ठलाई केन्द्रको कार्यकारी निर्देशकको रुपमा पठाउने निर्णय गरेको थियो।
यसअघि केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेमराज ज्ञवाली थिए। ज्ञवालीलाई मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको छ।
श्रेष्ठलाई मन्त्रिपरिषदले मानव अंग प्रत्यारोपण विकास समिति (गठन दोस्रो संशोधन) आदेश २०७८ को दफा ६ को उपदफा २ र ३ बमोजिम चार वर्षको लागि प्रत्यारोपण केन्द्रमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
श्रेष्ठ प्रत्यारोपण केन्द्र स्थापनाताकै कार्यकारी निर्देशक थिए। बीचमा डा. प्रेमराज ज्ञवालीलाई नियुक्ति गरेपछि उनी केन्द्रबाट बाहिरिएका थिए।
श्रेष्ठले बिहीबार नै केन्द्रमा पुगेर आफ्नो पदभार ग्रहरण गरेका छन्। पदभार ग्रहणपछि श्रेष्ठले मिर्गौला प्रत्यारोपणमा आफूलाई पुनः जिम्मेवारी प्राप्त भएको बताए।
‘सरकारले विश्वास गरेर मलाई पुनः मिर्गौला प्रत्यारोपण केन्द्रमा पुर्याएको छ,’ उनले भने, ‘म आफ्नो क्षमता र दक्षतालाई परिस्कृत गर्दै मिर्गौलापीडितको हितमा काम गर्नेछु।’
२०७२ सालमा मानव अंग प्रत्यारोपण ऐन आएसँगै केन्द्रले पहिलो मिर्गौला प्रत्यारोपण, मुटुको पहिलो जटिल शल्यक्रिया सुरू गरेको थियो।
२०७३ मंसिर १६ गते मानव अंग प्रत्यारोपण नियमावली आएसँगै सोही महिनाको मंसिर २२ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो। नि:शुल्क रुपमा भने मिर्गौला प्रत्यारोपण २०७४ साल वैशाख २ गतेबाट सुरू गरिएको थियो।
२०७४ वैशाख २८ बाट मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाबाट पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। २०७५ साल कात्तिक १२ गते ब्रेन डेथबाट दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको थियो।
यसपछि केन्द्रले मरणोप्रान्त मिर्गौला प्रत्यारोपण सुरू गरेको थियो। हालसम्म ६ जनाको मरणोप्रान्त मिर्गौला प्रत्यारोपण भएको छ। एक जनाको कलेजो प्रत्यारोपण भएको छ।
केन्द्रमा श्रेष्ठ प्रमुख हुँदा ३२ जनाको नाता नपर्नेबीच आपसी सहमतिमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपण १३ वर्षअघि वीर अस्पतालबाट भएको थियो।
त्यसपछि दोस्रोपटक १५ जनाको प्रत्यारोपण गरिएको थियो। केन्द्रमा हालसम्म ७५० जनाको मिर्गौला प्रत्यारोपण गरिसकिएको छ। कोरोना महामारीपछि भने प्रत्यारोपण न्यून संख्यामा भइरहेको थियो।
नेपालमा बर्सेनी ६ देखि ७ हजार मिर्गौलाका बिरामी थपिइरहेका छन्। तीमध्ये झन्डै चार हजारको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने आवश्यकता छ।
श्रेष्ठको पालामा केन्द्रमा ६९४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो। श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा अब्बल डाक्टर मानिन्छन्।