राष्ट्रिय दलित आयोगले जातीय विभेदका घटनामा अनलाइनबाटै उजुरी दिन मिल्ने वेबसाइट सार्वजनिक गरेको छ।
रणनीतिक योजना (२०८२/०८७) अन्तर्गत जातीय हिंसाका उजुरी अनलाइनबाटै दिन मिल्ने व्यवस्था आयोगले सार्वजनिक गरेको हो।
काठमाडौंमा एक कार्यक्रम गर्दै उपराष्ट्रपति रामसहायकप्रसाद यादवको उपस्थितिमा अनलाइनबाटै उजुरी दिन मिल्ने वेबसाइट सार्वजनिक गरेका हुन्।
उनले उजुरीका लागि सम्बन्धित निकायहरू टाढा-टाढादेखि कार्यालय आउनुपर्ने र प्रहरीको पहुँचनमा पुग्ने समेत नसक्नेहरूका लागि अनलाइन प्रणाली उचित हुने जानकारी दिए।
'डिजिटल प्रणालीको सुविधा विस्तार हुँदै गर्दा यो अनलाइन उजुरी दिने प्रणाली आजको आवश्यकता हो,' उपराष्ट्रपति यादवले भने।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा अनुसार आयोगको वेबसाइटमा गएर उजुरी व्यवस्थापन लेखिएको ठाउँमा क्लिक गरेर आफ्ना समस्याहरू राखेर समिट गर्न सकिन्छ। समिट गरेपछि स्वत: दर्ता हुने प्राणली छ।
'यसरी अनलाइनमार्फत दर्ता भएको उजुरीहरू आयोगले आफैं वा प्रहरी र महान्यायाधिवक्ता कार्यालयमा लगेर बुझाउँछ,' अध्यक्ष विश्वकर्मा, 'सम्बन्धित निकायलाई निषक्ष अनुसन्धान गर्न ध्यानाकर्षण गराइरहन्छौं।'
यसअघि दलित समुदायकाका उजुरीहरू आयोगकै कार्यालयमा आएर दिनुपर्ने व्यवस्था थियो। अब कार्यालयमा धाइरहनुपर्ने झन्झट नरहेको अध्यक्ष विश्वकर्माले जानकारी दिए।