रोल्पा जिल्लामा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ५ पुवाङका ६३ वर्षीय सुन्तु पुनको भिरबाट लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीका अनुसार शनिबार बेलुकी गोठतर्फ जाने क्रममा सुन्तु भिरबाट लड्दा झन्डै दुई सय मिटर तल खसेका थिए।
मदिरा सेवन गरी हिँडेका कारण सुन्तुको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको डिएसपी सुवेदीले बताए। सुन्तुको शव आइतबार बिहान फेला परेको र पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको उनले जानकारी दिए।
त्यस्तै रोल्पा नगरपालिका वडा नं. ७ डाङडुङेका ६४ वर्षीय धनसर पुन माडी खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन्।
डिएसपी सुवेदीका अनुसार आइतबार बेलुकी पख माडी खोलामा डुबेर मृत अवस्थामा फेला परेपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगा पुर्याइएको छ।
डाङडुङेका धनसर पनि शनिबार बेलुका घरबाट निस्किएको भन्ने खुल्न आएको डिएसपी सुवेदीले बताए।
‘यता कतिपय जेष्ठ नागरिक डिप्रेसनमा पुगेर पनि बढी मदिरा सेवन गरेको जस्तो देखिएको छ,’ डिएसपी सुवेदीले भने, ‘केही घटनाहरू नियाल्दा जानाजाना आत्महत्या गरेको हो कि भनेर आशंका गर्न मिल्ने ठाउँ देखिन्छन्।’
दुवै घटनाबारे अनुसन्धान जारी रहेको पनि उनले बताए।