सुनसरीमा खैरो हिरोइन (ब्राउन सुगर)सहित दम्पती पक्राउ परेका छन्।
इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने शिवे सरदार र उनकी श्रीमती सगुन माझी सरदारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
गत शुक्रबार इटहरी-१७ लवीपुर-तरहरा भित्री सडकखण्डमा लागु औषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो।
सूचना पाएपछि इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले खैरो हिरोइन बिक्री गरिरहेको अवस्थामा शिवेलाई पक्राउ गरेको थियो। उनीमाथि प्ररम्भीक अनुसन्धान गरी प्रहरीले उनकी श्रीमती सगुनलाई पक्राउ गरेको कार्यालयले जनाएको छ।
उनीहरूबाट प्रहरीले ४१ ग्राम ५९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ। साथै हिरोइन बेचेर पाएको १५ हजार ७१० रुपैयाँ र नापतौल गर्ने डिजिटल काँटा पनि बरामद गरेको छ।
प्रहरीले उनीहरूमाथि लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ।