नेपालको जनगणनामा लिपुलेक-लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ।
बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो।
नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८पछिको सबैभन्दा न्यून हो।
१९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ। वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो।
नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।
नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।
नेपालको अहिलेको जनगणनामा भारतको नियन्त्रणमा रहेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुराको जनसंख्याको पनि समेटिएको विभागले जनाएको छ।
प्रत्यक्ष रूपमा गणकहरू लिपुलेक, लिम्पियाधुरामा पुग्न नसके पनि अप्रत्यक्ष विधि प्रयोग गरेर जनगणना गरिएको विभागले जनाएको छ।
विभागका अनुसार लिपुलेक, लिम्पियाधुराको जनसंख्या अन्तिम परिणाममा समावेश हुनेछ। यसअघि २०१८ सालको जनगणनामा पनि लिपुलेक, लिम्पियाधुराको जनसंख्या समावेश गरिएको थियो। त्यसपछि उक्त क्षेत्रमा भारतीय सेना आएर बसेपछि नेपालले जनगणना गर्न सकेको थिएन।
२०७७ जेठमा नेपालले लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो। उक्त नक्सा जारी भएपछि गरिएको पहिलो जनगणनामा लिपुलेक, लिम्पियाधुराको जनसंख्या पनि समावेश गरिएको हो।
प्रारम्भिक नतिजाभन्दा अन्तिम परिणाम २ देखि ३ प्रतिशतसम्म तलमाथि हुनसक्ने विभागले जनाएको छ।