विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका एक जना कैदी भागेका छन्। अस्पतालबाट बुधबार राति भागेका कैदी विराटनगर–१८ का ४५ वर्षीय लक्ष्मण दास हुन्।
बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय पाएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको अस्पतालले जनाएको छ।
दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो।
फैसलापछि उनी फरार थिए। प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो। कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई साउन २० गते अस्ताल भर्ना गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले फरार दासको खोजी भइरहेको बताएका छन्।