‘ह्याण्ड (हात) सर्जरी भनेको यस्तो विधा हो, जसमा माथि पाखुरादेखि औंलाहरूसम्मको कुनै पनि समस्याहरूको बारेमा उपचार गर्ने विषय पर्छ।
हामीकहाँ सबैभन्दा धेरै चोटपटक लागेर हातमा समस्या आउँछ। अर्को जन्मजात समस्याहरू हुन्छन्। जन्मजात औंला जोडिएको, सानो ठूलो भएको, चुडिएको लगायतका हुन्छन्।
त्यस्तै, उमेरसँगै हातमा समस्या देखिन्छ। दैनिक कामहरूले गर्दा हातमा समस्या आउँछ।
त्यस्तै बाथको समस्याले, मस्तिष्कमा आएको समस्याले समेत हातमा समस्या आउँछ। यो सबै समस्याको उपचार ह्याण्ड सर्जनले गर्छ।
हातमा देखिने सबै समस्याको उपचार सहजै हुन्छ भन्ने हुँदैन। हातमा चोटपटक लाग्नसाथ यसको सम्बन्ध धेरै अंगमा जोडिएको हुन्छ।
खुट्टामा चोट लाग्दा जति सजिलै उपचार हुन्छ, त्यसरी नै हातको उपचार गर्न सकिँदैन।
हातमा थोरै चोट लागेको छ भने पनि त्यसलाई खेलाँची गर्नु हुँदैन।
हाम्रो शरीरको अंगमध्ये सबैभन्दा प्रयोग हुने हात हो। त्यसैले हातमा चोट लाग्ने सम्भावना धेरै छ। हातले गर्ने काममा कसरी सुरक्षित हुने भनेर सचेतना भने छैन।
कुनै कारणले हात गुमेमा कृत्रिम हात राख्न सकिन्छ। तर कृत्रिम खुट्टाजस्तो बलियो हुने हुँदैन। कृत्रिम खुट्टाले सामान्य खुट्टाले जस्तै काम पनि गर्न सक्छ। तर कृत्रिम हातको प्रभाव त्यस्तो हुँदैन। एकातिर महंगो छ भने अर्कोतर्फ कृत्रिम हातको प्रभाव निकै कम हुन्छ।
हातमा सानो भन्दा सानो चोट छ भने सबैजसो काम रोकिन्छ। आफ्नो दैनिक गतिविधिलाई असर गर्छ। हातले काम गर्न नसक्दा मात्र थाहा हुन्छ कि हातको महत्व कति छ भनेर। त्यसैले हातको सुरक्षाको लागि धेरै ध्यान दिनुपर्छ।
(अर्थोपेडिक ह्याण्ड सर्जन डा.शिलु श्रेष्ठ राष्ट्रिय ट्रमा सेन्टर, व्लुक क्रस हस्पिटलमा कार्यरत छन्।)