बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ।
मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहराले बताए। गौरीको असार ६ गते र कमलाको ७ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ
साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन्।
उनीहरुलाई गएराति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिए।
डिएसपी बोहराका अनुसार उनीहरूले सेवन गरेको तरल पदार्थ परीक्षणको लागि पठाइएको छ।
उनीहरू गत ४ गते बेलुकी स्थानीय गणेश शिव मन्दिरको वन क्षेत्रको डम्पिङ साइट नजिकै सालको फुल टिप्न गएका थिए। त्यसक्रममा जगत कुमारीले एउटा जर्किन फला पारेकी थिइन्। घरेलु मदिरा ठानेर घरमा ल्याएर राखेकी थिइन्।
रक्सी भनेर केहीलाई बेचेको पनि हुनसक्ने डिएसपी बोहराले बताए।
प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।