राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूलाई अन्य दलले लडाउन सक्ने तागत नभएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले अन्य दलमा रास्वपालाई लडाउने तागत नभएको बताएका हुन्।
‘मैले बारम्बार भन्ने गरेको छु साथीहरूलाई लेखेर पनि राख्नुस है ठूलो अक्षरमा बिर्सेला भनेर। हिजो अस्ती पनि भनेको थिएँ कि हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौं,’ उनले भने, ‘अरूले हामीलाई लडाउने तागतनै राख्दैन। म यति भन्न चाहन्छु।’
रास्वपालाई लडाउन प्रयास भएपनि नसक्ने उनले बताए।
‘प्रयास त हुन्छन, भइरहेका छन्। अहिले देख्नुभएको छैन संगठित रूपमा हामीलाई लडाउने प्रयास भइरहेको छ। यो राम्रो कि त्यो राम्रो भनेर नयाँनयाँ नेताहरूको फोटो राख्दै,’ उनले भने।
यस्तै रास्वपाले जान्नेलाई छान्ने भन्ने नारालाई कायम राखे अर्को निर्वाचन सम्ममा पहिलो दल बन्न सम्भव भएको पनि उनले बताए।
‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिइरहेको पद र जिम्मेवारी उसलाई दिएर म उसको सहयोगी हुन सक्छु भन्ने भयो भने कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरूसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन,’ उनले भने।