नागरिकता नपाएर काठमाडौंमा आन्दोलनरत २६ वर्षीय नीरजकुमार कामतले नागरिकताको प्रमाणपत्र लिएका छन्।
उनले मोरङ जिल्ला प्रशासन कार्यालयबाट सोमबार नागरिकता लिएका हुन्। आइतबार नै वडा कार्यालयबाट सिफारिस एवं आवश्यक कागजात लिएर उनी सोमबार प्रशासन कार्यालय पुगेका हुन्।
उनका अनुसार कार्यालयमा नागरिकता लिनेको भीड थियो। त्यसमध्ये उनले पहिलो नम्बरमा नागरिकता लिएको सुनाए।
लामो समयसम्म नागरिकता नपाएर काठमाडौंको माइतीघरमा धर्ना बसेका उनले गत जेठ ३० गते आत्मदाहको प्रयास गरेका थिए।
उनी मोरङ कटहरी गाउँपालिका-४ का किसुनदेव कामत र गुलाबदेवी चौधरीका जेठो छोरा हुन्। जन्मसिद्धका सन्तानले नागरिकता पाउने कानुनी व्यवस्था भएपनि उनले नागरिकता पाउन सकेका थिएनन्। अब अनागरिक भएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनी बताउँछन्।
‘पहिलोपल्ट २०७४ नागरिकता बनाउन वडा कार्यालय गएको थिएँ। जन्मसिद्धको सन्तानले तत्काल नागरिकता नबन्ने भन्दै फर्काइदिएको थियो,ʼ उनले भने, ‘तीन महिना-चार महिना बन्छ भनिएको थियो। पाँच वर्ष कुर्नुपर्यो।ʼ
नागरिकता नभएकै कारण आफ्नो नामको सीमकार्ड चलाउन नपाएको, जागिर गर्न नपाएको, बैंक खाता समेत बनाउन पाएका थिएनन्। अब ती कुरा भोग्नु नपर्ने उनको भनाइ छ।
‘आज नागरिक भएको महसुस गरेको छु,ʼ नीरजले भने।
उनी २१ वर्षको उमेरमा नेपाल प्रहरीमा जागिर गर्न चाहन्थे। तर नागरिकता नभएकाले सपना अधुरै रह्यो। सपना पूरा गर्न नपाएपनि नागरिकता पाएकाले उनी खुसी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलेपछि आइतबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता लिन पाउने भएका छन्। त्यही कारण मधेशका जिल्ला प्रशासन कार्यालयमा भीड छ।
नेपालको संविधानले २०७२ सालअघि नेपालको नागरिकता लिएका बुबा-आमाका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको थियो।