ललिता निवास प्रकरणमा मंगलबार समातिएका सात जनामध्ये तीन जना कर्मचारीले सर्वोच्च अदालतबाट पक्राउ नगर्न 'स्टे अर्डर' लिएको खुलेको छ।
'स्टे अर्डर' लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, हूपेन्द्रमणि केसी र गोपाल कार्की छन्।
प्रवक्ता अधिकारीले अब यसबारेमा के गर्ने भन्ने विषयमा छलफल गर्ने बताए।
‘स्टे-अर्डर लिएका रहेछन्। आदेशमा के छ हामी हेर्छौं,’ उनले भने।