बाँके प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको चिनी र सोयाबिनको तेल ठूलो परिमाणमा बरामद गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट भे १ ख ३३४८ नम्बरको ट्रकलाई चेक गर्ने क्रममा १७ लाख ५२ हजार बराबरको भन्सार छली गरी भित्र्याउँदै गरेको चिनी, सोयाबिनको तेल र सुर्ती बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले असार ११ गते राति चेक गर्ने क्रममा अवैध रूपमा भारतबाट भन्सार नतिरी चोरी पैठारी गरी ल्याएको ६० बोरा चिनी, सोयाबिनको तेल ३०० पेटी र सुपर पावर सुर्ती ५० पोका बरामद भएको प्रहरी प्रवक्ता डाँगीले बताए।
आवश्यक कारबाहीको लागि चालकसहित ट्रकलाई नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।