सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो। समाजमा सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिर्वतन ल्याउन उक्त कार्यक्रम राखिएको गापा उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए।
उनले भने, ‘सासू र बुहारीलाई एकै ठाउँमा राखेर एकअर्काको भावना र कर्तव्य बुझाउन समन्वयकारी भूमिका निर्वाह गरेमा सामाजिक र पारिवारिक सम्बन्ध कायम गर्न सहयोग पुग्ने कार्यक्रमको उद्देश्य छ।‘
सासू र बुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैँभरि मिलेर बस्न नसक्ने सम्बन्धका रुपमा लिने गरिएकाले यसलाई चिर्न आवश्यक रहेको उनले बताए। यस्तै, फिक्कल गाउँपालिकाले पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सासू–बुहारी सम्मान कार्यक्रम राखेको छ।
गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत छ वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिए। यस कार्यक्रमको उद्देश्य गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने रहेको उनको धारणा छ।
गाउँपालिकाभित्र रहेका उदाहरणीय सासू र बुहारीलाई सम्मान गर्ने कार्यक्रमलाई आगामी आवहरुमा पनि निरन्तरता दिइने उनले बताए। सासूले बुहारीलाई छोरी र बुहारीले सासूलाई आमाको व्यवहार गर्नुपर्नेमा गाउँपालिकाको जोड छ। यसले घरेलु हिंसा न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।