पहिला हामीले आफूलाई उपयुक्त हुने ब्रस लिनुपर्छ। बजारमा नरम, मध्यम, कडा र अर्थोडोन्टिक ब्रस पाइन्छ। नरम खालको ब्रस वृद्धहरूले प्रयोग गर्न सक्छन्।
मध्यम खालको ब्रस दाँत सामान्य हुनेले प्रयोग गर्न सक्छ। कडा र साह्रो खालको ब्रस बांगोटिंगो दाँत सफा गर्न काम लाग्छ। यसले दाँतको चेपमा अड्किएको खाना निकाल्न सहयोग गर्छ।
ब्रसमा केराउको दाना जति मञ्जन राख्नुपर्छ। त्यस्तो मञ्जन फ्लोराइडयुक्त हुनुपर्छ।
सर्वप्रथम हामीले पछाडिको भागबाट ब्रस सुरू गर्नुपर्छ। दाँत र गिजाको ४५ डिग्री कोणमा राखेर अगाडि पछाडि माझ्नुपर्छ।
दाँतको सबैतिरको भागमा माझ्नुपर्छ। तलतिरबाट फोहोर माथितिर धकेलेर माझ्नुपर्छ। चपाउने भागलाई समेत सफा गर्नुपर्छ।
हामीले बिर्सिने भनेको भित्रको भाग हो। त्यहाँ धेरै फोहोर जम्मा भएको हुन्छ। दाँत माझिसकेपछि सकेसम्म कुल्ला गर्नु हुँदैन। जति मञ्जन मुखमा छ त्यसलाई थुक्नुपर्छ।
जिब्रोलाई पनि सरसर्ती एक पटक सफा गर्न छुटाउनु हुँदैन।
दाँत दुई पटक माझ्नुपर्छ। रातको खाना खाइसकेपछि एक पटक भने बिहानको नास्ता खाएपछि अर्को पटक माझ्नुपर्छ। दिनभरी खाएको खाने कुरा दाँतमा अड्किने भएकाले रातिमा दाँत माझ्नु पर्छ।
सामान्यत, बिहान मात्रै ब्रस गर्ने गरिन्छ। तर दिनभरि खाएको खाना अड्किएर बसेको हुन्छ।
रातभरि पनि त्यो खाना मुखमै रहँदा दाँत कीराले खाने समस्या हुन्छ।
दुई पटक दाँत माझ्न सकिँदैन भने रातको समयमा माझ्नुपर्छ।
हरेक तीन-तीन महिनामा ब्रस फेर्नुपर्छ। यद्यपि ब्रस बिग्रिएमा पहिल्यै फेर्नुपर्छ। तीन महिनामा भने ब्रस फेर्ने पर्छ। तर ब्रस पूर्ण रूपमा नबिग्रिकन फेर्ने गरिँदैन। पुरानो बिग्रिएको ब्रसले पूर्ण रूपमा सफा गर्न सक्दैन भने अड्किएको खानाहरू निकाल्न समेत मिल्दैन।
सानो बालबालिकाको लागि पनि उनीहरूकै उमेर अनुसारको फ्लोराइडयुक्त मञ्जन पाइन्छ। उनीहरूलाई घरका ठूला सदस्यले प्रयोग गर्ने मञ्जन ब्रस प्रयोग गर्न दिनु हुँदैन।
(दन्त चिकित्सक डा.सृष्टि शाह समाज डेण्टल हस्पिटलको बसुन्धरा शाखामा कार्यरत छन्।)