गर्मीको समयमा डेंगीको भाइरस धेरै सक्रिय हुन्छ। २२ देखि २५ डिग्री सेल्सियस तापक्रममा डेंगी धेरै फैलिन्छ।
अहिले धरान, विराटनगरमा यसले महामारीको रूप लिएको छ। काठमाडौंमा पनि डेंगीका बिरामी फाट्टफुट्ट देखिन थालेका छन्। यसलाई आधार मान्ने हो भने भदौको मध्यदेखि अन्तिमसम्म काठमाडौंमा यसको प्रकोप धेरै हुने सम्भावना छ।
गत वर्ष डेंगीले धेरै दुःख दियो। त्यसैले यसपटक थोरैलाई डेंगी भएछ भने पनि गम्भीर हुन सक्छ। किनकी डेंगी पहिलोभन्दा दोस्रोपटक हुँदा अलि गम्भीर हुन्छ।
धरानको स्थिति हेर्दा काठमाडौंमा त्यस्तै हुन सक्ने अनुमान गर्न सकिन्छ। धरानमा पनि सुरूमा फाट्टफुट्ट मात्रै देखिएको थियो।
डेंगी नियन्त्रण गर्न अलि सजिलो छ। यो लामखुट्टेबाट सर्ने भएकाले लामखुट्टेको नियन्त्रण गर्न सक्यो भने यसको प्रकोप कम हुन्छ।
अहिले दस जना ज्वरो भएका बिरामी अस्पताल आउदा १\२ जनामा डेंगी देखिएको छ।
यसको समय चक्र दुई साताको हुन्छ। लामखुट्टेको ब्रिडिङ १५\२० दिन हुने भएकाले भदौको दोस्रो साता भनिएको हो। त्यस्तो भएमा यसको प्रकोप एकदेखि डेढ महिना जान्छ। तर यसलाई कम गर्न सकिन्छ।
लामखुट्टेको टोकाइबाट बच्न सकियो भने डेंगी पनि कम हुन्छ। त्यसका लागि लामखुट्टे नियन्त्रण गर्नुपर्छ।
सरकारले तयारी गर्यो र लामखुट्टेको लार्भा नियन्त्रण गर्यो भने यो सम्भव हुन्छ। टायर, गमलामा भएको पानी लामखुट्टे बस्ने ठाउँ हो। यसलाई रोक्न सक्यो भने डेंगी आफैं नियन्त्रण हुन्छ।
गत वर्ष काठमाडौंको फोहोर उठेको थिएन। त्यही बेला वर्षा पनि भयो जसले गर्दा धेरै नै फैलिन पुग्यो।
डेंगी प्रकोप नियन्त्रणका लागि गर्न सकिने प्रयासहरूः
- आफ्नो घरको टायर, गमला, खाली बोतल वा खाल्डाखुल्डीमा पानी जम्न नदिने।
- झ्यालमा जाली राख्ने।
- झुलभित्र सुत्ने।
- हातखुट्टामा मह्लम लगाउने।
- लामखुट्टेले बिहान सूर्योदय हुनुभन्दा अगाडि र घाम चरक्क हुनुभन्दा अगाडि अनि बेलुका घाम अस्ताउने बेलादेखि अँध्यारो नहुँदासम्म सक्रिय हुने भएकाले त्यो बेला घरबाट बाहिर कम निस्किनुपर्छ।
- बच्चाबच्ची र बुढाबुढीलाई बाहिर जान नदिने।
- सरकारले सडकको फोहोर उठाउने, खाल्डाखुल्डी पुर्ने।
- सडकमा अलपत्र रहेका बोतल, ट्यांकी र टायरहरू फाल्ने।
- स्प्रे गरेर लार्भा नस्ट गर्ने।
- अस्पतालहरू पनि तयारी अवस्थामा बस्नुपर्छ। बेडहरू थप्नुपर्छ।
डेंगीका लक्षणहरूः
- १०४ देखि १०५ डिग्रीसम्म ज्वरो आउँछ।
- टाउको, मांसपेशी, आँखाको गेडी र कम्मर दुख्ने हुन्छ। कम्मरको हड्डी नै भाँचियो जसरी दुख्छ।
- खानाको मिठास जान्छ।
- शरीर शक्तिहीन जस्तो बन्छ।
- के गरौं, कसो गरौं हुने, प्यास लाग्ने तर पानी खान मन नलाग्ने हुन्छ।
- निन्द्रा नलाग्ने हुन्छ।
डेंगीको ज्वरो चार\पाँच दिनमा घट्दै जान्छ। तर कतिपयलाई त्यसपछि झन् अप्ठ्यारो हुन्छ। त्यस्तो बेला ज्वरो कम हुन्छ तर खाना रूच्दैन। वाकवाकी लाग्ने, पेट दुख्ने, भुँडी फुल्ने र सास फेर्न गाह्रो हुने हुन्छ। गिजाबाट रगत आउने, पिसाब र दिसामा रगत आउने हुन्छ। त्यसपछि अझै समस्या समेत पर्न सक्छ।
भाइरल ज्वरो र डेंगी ज्वरोमा फरक छ। डेंगी हुनेलाई रूघाखोकी लाग्दैन।
साधरणतया ७०\८० प्रतिशतलाई आफैं ठीक हुन्छ। ज्वरो आएपछि पारासिटामोल खाने र आराम गर्ने गर्नुपर्छ। पानी प्रशस्त खानुपर्छ। पोषिलो खाने कुरा खानुपर्छ। फलफूलहरू; मेवा, स्याउ, नासपती, किवी, कागती र सुन्तला खाएर आराम गर्नुपर्छ।
पहिले डेंगी भइसकेकाहरूलाई अलि अप्ठ्यारो पर्न सक्छ। त्यस्ता व्यक्तिहरू अझै सचेत हुनपर्छ।
१८ वर्षभन्दा माथिकाले दिनमा चारपटक दुई चक्की पारासिटामोल खान सकिन्छ। ज्वरो घटाउन ब्रुफिनजस्ता औषधि खान हुँदैन। जटिलता आउन थाल्यो भने अस्पताल जानुपर्छ।