सशस्त्र प्रहरी बल नेपालले ५६ जना एसपीमा र ८४ जना डिएसपीमा बढुवाका लागि नाम सिफारिस गरेको छ।
योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मूल्याङ्कनलाई आधार बनाएर बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
यस पटक ओ.एण्ड एम. नभएको भए डिएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो। महानिरीक्षक राजु अर्यालले सोही समस्यालाई समाधान गर्नको लागि पहल गरेसँगै बढुवाको जाम अन्त्य भएको हो।
संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो। सशस्त्र प्रहरीमा वर्षौंदेखि रहेको वृत्तिविकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओ.एण्ड एम.) मार्फत् केही दरबन्दी थप र केही पद समायोजन भएका थिए।
यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरू एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ।
हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शून्य भएको बताइएको छ।
गत असार ३१ गते सशस्त्र प्रहरी बलले एसएसपीदेखि सहायक हवलदार सम्मको बढुवाको लागि सूचना प्रकाशित गरेको थियो।