राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आभार प्रकट गरेका छन्।
बिहीबार इन्द्रजात्रामा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेल लगायत भिभिआइपीहरूले जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदल यात्रा गरेका थिए। काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गरेको छ।
त्यस विषयमा बिहीबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सवारीसाधन प्रवेश नगराएकोमा आभार प्रकट गरेका हुन्। यसले विशिष्ट अतिथिहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने उनको भनाई छ।
‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले काठमाडौं महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारीसाधन निषेधित क्षेत्र) मा सवारीसाधन प्रवेश गराइदिनु भएन। उहाँहरूले जुद्ध शालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो। हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ,’ उनले भनेका छन्।
उनले यो सामान्य देखिएपनि सम्पदा संरक्षणमा अर्को फड्को भएको बताएका छन्।
‘सामान्य जस्तो लागे पनि काठमाडौंका सम्पदा संरक्षणमा यो अर्को फड्को हो। हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनु भएकोमा आभारी छौं। हाम्रो सम्पदा, हाम्रो पहिचान,’ उनले भने।