कार्टर सेन्टरको ‘इन्फर्म वुमन, ट्रान्सफर्म लाइभ्स’ मा काठमाडौं सहर पनि छानिएको छ। विश्वका १२ वटा सहर छानिएकामा काठमाडौं पनि परेको महानगरपालिकाले जनाएको छ।
महिलाले आफूलाई चाहिने सूचनाहरू खोज्न र प्राप्त गर्न सक्ने बनाउन इन्फर्म वुमन, ट्रान्सफर्म लाइभ्स अभियान थालिएको हो। महानगरका अनुसार यो अभियानको तेस्रो वर्षमा सहभागी हुन काठमाडौं छानिएको हो।
अभियानमा सहभागी हुन विश्वभरका सहरबाट आवेदन माग गरिएको थियो।
छानिएका सहरहरूमा, नेपालको काठमाडौं, घानाको अक्रा, अमेरिकाको मेरिल्यान्ड, तान्जानियाको दाररस सलाम, स्कटल्यान्डको ग्लासगो, नाइजेरियाको लागोस, मेक्सिकोको मेरिडा, फिलिपिन्सको क्वेजोन सिटी, इक्वेडरको क्युटो, ब्राजिलको रियो द जेनेरियो, इंल्यान्डको ब्राजिलस रोटरडम र चिलीको सान्टियागो छन्।
हरेक अवस्थाबाट उठ्न गहकिलो आवाज चाहिने हुँदा यस अभियानमा सहभागी भएको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन्।
'हाम्रा सहरका महिलाहरूलाई आफ्ना लाभका लागि आवश्यक पर्ने जानकारी चाहिएको छ,' उनले भनिन्, 'आर्थिक अवसरमा सचेतना बढाउन, सार्वजनिक निर्णय, प्रक्रिया र त्यसबारे थाहा पाउन र सार्वजनिक सेवामा पहुँच बढाउन जरूरी छ।'
यो अभियानको लक्ष्य महिलाको सूचनाको हकका बारेमा सचेतना बढाउनुरहेको हो। यस अभियान बिहीबारदेखि सुरू भएको हो।