मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक गाडी दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान ५:४५ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको गाडी कुलेखानी-काठमाडौं खण्डमा सडकबाट करिब ५०० मिटर तल खसेको हो।
गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट सात जना, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा १० जना, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाको ११ जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको छ।
अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेकाको अवस्था र क्षतिबारे थप विवरण आउन बाँकी छ।