आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्।
उनलाई गएराति साढे ११ बजे महाराजगन्जस्थित चिरायु* अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
अभिनेता केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँगाबाट पक्राउ गरेको थियो।
रावायण नाम फिल्म खेल्नका लागि १० लाख रूपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरूद्ध उजुरी दिएकी थिइन्।
उजुरी परेपछि पटकपटक छलफलका लागि दुबै पक्षलाई बोलाउँदा पनि अनमोल नआएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी शुक्रबार प्रहरी वृत्त सिंहदरबारमा बुझाएको थियो।
वृत्तमा पुर्याइएपछि अनमोलले छाती दुखेको र श्वास फेर्न गाह्रो भएको भनेपछि उनलाई अस्पताल लगिएको एसपी ढुंगेलले जानकारी दिए।
आज शनिबार बिदा भएकाले अनमोलविरूद्ध परेको उजुरीमाथिको कारबाही आइतबारदेखि सुरू हुनेछ।
आइतबार उनलाई अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अगाडि बढाउने एसपी ढुंगेलले जानकारी दिए।
*यसअघि अन्यथा परेकोले सच्याइएको छ।- सम्पादक