मानव बेचबिखन तथा ओसारपोसारका विरुद्धमा काम गर्दै आएको शान्ति पुनस्थापना गृहले आफ्नो ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
शुक्रबार ललितपुरमा साधारणसभा सम्पन्न गरेको संस्थाले मानव वेचविखनको विरुद्धमा सशक्त भएर उभिनुपर्ने बताएको हो।
‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण: मानव बेचविखनको निर्मुलन’ भन्ने नारा राखेर यस वर्ष पनि संस्थाले आफ्ना अभियानहरु जारी राखेको छ ।
विश्वमै दोस्रो ठूलो अपराधको आकार लिएको मानव बेचविखन तथा ओसारपोसारका आयामहरु फरक हुँदै गएको र त्यसले विकराल रुप लिनु अघि नै सचेत हुनुपर्ने अवस्था अएको संस्थाले औँल्याएको छ।
कार्यक्रममा ह्यूमन ट्राफिकिङ ब्युरोका डिएसपी वीरेन्द्र गोदारले नेपाल जस्तो अल्पविकसित मुलुकबाट बाह्य मूलुकमा रोजगारी तथा विभिन्न प्रलोभन देखाई बेचिने अवस्था अझै पनि कहालीलाग्दो अवस्थामा रहेको बताए।
वैदेशीक रोजगारको प्रलोभनमा भिजिट भिसामा बाह्य मुलुक दुबई तथा खाडी मुलुकहरुमा बेचिने गरेको बताए। पछिल्लो समय अफ्रिकन मुलुकमा समेत बेचिनेको संख्या बढ्दै गएको उनले जानकारी दिए।
न्युन आय भएका, गरिब तथा विपन्न परिवारका मानिसहरुलाई बैदेशीक रोजगारीको प्रलोभन देखाएर बेचबिखन गर्ने क्रम सबैभन्दा धेरै रहको नेपाल प्रहरीकी डिआइजी दुर्गा सिंहले बताइन् ।
वैदेशीक रोजगारी बाहेक श्रम शोषण तथा नेपाली चेलीहरुलाई भारत लगाएका अन्य मूलुकहरुमा यौन शोषणका लागि समेत बेचिने गरेको उनले बताइन्। पछिल्लो समय महिला मात्रै नभई पुरुषहरु समेत बेचिने अवस्था सिर्जना भएको उनको भनाइ छ।
देश भित्रै पनि श्रम तथा यौन शोषणका लागि होटल तथा लजहरुमा पनि नेपाली चेलिहरु बेचबिखनमा पर्ने गरेका धेरै उदाहरणहरु रहेको उनले बताइन्।
मानव बेचबिखनको आयामहरु बद्लिदो अवस्थामा रहेकाले समाजलाई सुसुचित गराउन र मानव बेचबिखनलाई निर्मुल पार्न संस्थाले निरन्तर भुमिका खेलेको संस्थाकी अध्यक्ष शान्ता सापकोटाले बताइन।
संस्थाले चालेको कदममा साथ सहयोग दिएर सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद दिँदै उनले भनिन्– ‘मानव बेचविखन विरुद्धको अभियानमा संस्थाले ३० औं वर्ष पार गर्दै गर्दा नयाँ नयाँ आयाममा यस्ता घटनाहरु बढ्नुले थप चुनौती बढ्दो छ।’
यसको न्यूनिकरण मात्रै भन्दा पनि निर्मुल पार्ने विषयमा संस्था निरन्तर क्रियाशील रहने उनले बताइन्।
संस्थाले जनसम्पर्क, यातायात व्यसायीसँगको सम्पर्क र समन्वय, होटल तथा अन्य व्यवसायीसँग सम्पर्क र समन्वय, सिमा निगरानी कार्यक्रम, पुनस्थापना र पुनर्मिलन, मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस लगाएतका कार्यक्रमहरु गर्दै आएको छ।
कार्यक्रममा संस्थाको स्थापनाकाल देखि नै मानव बेचबिखन तथा ओसारपोसार र महिला हिंसा विरुद्धको अभियानमा सक्रिय भुमिका खेलेका युवराज खरेललाई संस्थाले अथक सेवा सम्मानद्धारा सम्मान गरेको छ।
संस्थाले आर्थिक वर्ष २०७९/०८० मा मानव बेचबिखन तथा ओसारपोसार र महिलाहिंसा घटनामा १४६३ जनाको उद्धार गरेको छ।
विभिन्न बहानामा विश्वभर बार्षिक रुपमा ४० करोड भन्दा बढि मानिस बेचबिखन तथा ओसारपोसारमा पर्ने गरेको विभिन्न तत्थ्याङ्कहरुले देखाएको संस्थाले उल्लेख गरको छ।