नेपाली कांग्रेसका नेता एवं सांसद शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित ३ लाख ५१ हजार १११ रुपैयाँ सहयोग कोइरालाले घिमिरे निवास पुगेर हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गर्दै कोइरालाले अमेरिका बसेर सहयोग गर्नेहरूलाई धन्यवाद दिए। नेपालीलाई समस्या पर्दा विदेशमा रहेका नेपालीहरूको सहयोग महत्वपूर्ण हुने गरेको उनले बताए।
घिमिरेले एसइइ पछि कक्षा ११ पढ्न कलेज जाने क्रममा सवारी दुर्घटनामा परी खुट्टा गुमाएकी थिइन्।
सो रकम हस्तान्तरण कार्यक्रममा गैर-अवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशीले घिमिरेलाई कृत्रिम खुट्टा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौंका सभापति सवुज बाँनिया, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री दिपक भट्टराई, नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसी, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सचिव बद्री भट्टराई, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कल्पना खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरको उपस्थिति थियो।