कलाकार अनमोल केसीलाई सोमबार फेरि अदालतमा उपस्थित गराइने भएको छ।
आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका केसीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो। रावायन फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको तर पछि नखेल्ने भन्दै रकम पनि फिर्ता नगरेको आरोप उनीमाथि छ।
फिर्ता नगरेपछि प्रड्युसरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले गत शुक्रबार केसीलाई पक्राउ गरेको हो।
शुक्रबार पक्राउ परेको र शनिबार सार्वजनिक बिदा भएकाले उनलाई अदालतमा उपस्थित गरिसकेको थिएन। आइतबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो।
अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले तीन दिनको म्याद दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
‘पक्राउ परेको दिन, हिजो र आज गरी तीन दिनको म्याद दिएको हो। यसको मतलब अब भोलि फेरि अदालतमा पेश गर्नुपर्ने हुन्छ,’ उनले भने।
शुक्रबार पक्राउ परेका केसीको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो।
तस्बिरहरू:
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी