नेकपा एमालेको कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आज मत गणना हुँदैछ।
आइतबार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो।
त्यसकारण आज बिहान ८ बजेदेखि मत गणना सुरू गर्न लागिएको अध्यक्ष मण्डलका सदस्य मोहनमाया ढकालले जानकारी दिइन्।
आइतबार ६१६ जना मतदातामध्ये ६०९ जनाले मतदान गरेका थिए।
गत साता बुधबारदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट सोमबार नयाँ नेतृत्व घोषणा हुनेछ।
१३५ सदस्यीय प्रदेश कमिटीमा पहिलो चरणमा १२५ जना निर्वाचित हुनेछन्। तीमध्ये पनि लेखा समितिका उपाध्यक्षसहित ४४ जना सदस्यहरु निर्विरोध चयन भईसकेका छन्।
पदाधिकारीमा को को छन् उम्मेदवार?
कर्णाली प्रदेश कमिटीको अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा छ।
सल्यानका गुलाबजंग शाह, कालीकोटका मिनबहादुर शाही र प्रकाश रोकायाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
गुलाबजंग स्थायी कमिटी सदस्य यामलाल कँडेलको समूहबाट उम्मेदवार छन् भने मिनबहादुर स्थायी कमिटी सदस्य गोरख बोगटीको समूहबाट उम्मेदवार छन्।
प्रकाश रोकायाको भने कुनै समूह छैनन्।
यस्तै उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, मुगुका दानसिंह परियार र जाजरकोटका लालबहादुर महाताराबीच प्रतिस्पर्धा छ।
सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार छन्।
उपसचिवमा ९ जनाको उम्मेदवारी छ।
मुगुका उब्जनबहादुर शाही, सुर्खेतका तेजकुमार विक (तोरण) जुम्लाका धिरेन्द्रराज गिरी, रुकुम पश्चिमका नारायणकुमार शाह, सुर्खेतका पद्मा खड्का, जुम्लाका मेनका पछाई, कालीकोटका रमेशकुमार शाही, दैलेखका रविन्द्रराज शाही र बखतबहादुर भण्डारी उपसचिव पदका लागि प्रतिस्पर्धामा छन्।