अरिंगालको टोकाइबाट जाजरकोटमा दिदी-बहिनीको मृत्यु भएको छ। कुशे गाउँपालिका–१ धाउनी तीन वर्षीया सुस्मिता सिंह र एक वर्षकी निर्जला सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
मृत्यु भएका निर्जला र सुस्मिता एकै घरका दुई दिदी-बहिनी हुन्। उनीहरू स्थानीय वीरबहादुर सिंहका छोरी हुन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार घटना सोमबार दिउँसो १ बजेको हो।
अरिंगालको टोकाइबाट घाइते भएकी निर्जलाको उपचारका लागि छेडागाड नगरपालिकास्थित थलह बजार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
सुस्मिताको सोमबार बेलुका नै मृत्यु भएको हो।
बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएकी छन्। गाईगोरु लिएर खेतमा काम गर्न जाँदा उनीहरूलाई अरिङ्गालले टोकेको थियो।