ललितपुर महानगरपालिकाले महानगरको मोबाइल एप सुरू गरेको छ।
बिहीबार एक कार्यक्रम गरी महानगरप्रमुख चिरिबाबु महर्जनले एलएमसी अलर्ट मोबाइल एपको शुभारम्भ गरेका हुन्।
मोबाइल एप विशेषगरी महानगर प्रहरीलाई छिटो सूचना दिनका लागि बनाइएको र एपमार्फट २१ वटा अलर्ट र गुनासो पठाउन सकिने बताइएको छ।
महानगर क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एप खोलेर तीन पटकको ट्यापमा आफ्नो सन्देश सिधै नगर प्रहरीको कन्ट्रोल रूमसम्म पठाउन सकिनेछ।
दमकल, एम्बुलेन्स, शववाहन चाहिएमा पनि एपमार्फत नै सन्देश पठाउन सकिन्छ। त्यस्तै कतै ढल फुटेको वा बिग्रिएको भेटिएमा, सडक बत्ति बिग्रिएको देखिएमा पनि एपमार्फत सूचना दिन सकिन्छ।
त्यसमा महानगरले छिटोभन्दा छिटो गुनासो सम्बोधन गर्ने बताइएको छ।।
कालो बजारी भइरहेको देखिएमा, बिना स्वीकृति संरचना निर्माण भएकोबारे, फुटपाथमा व्यापार गरेको, अनधिकृत विज्ञापन गरेको, सार्वजनिक जग्गा हडपेको देखिएमा पनि एपमार्फत नै गुनासो गर्न सकिनेछ।
यसले इन्टरनेट नभएको अवस्थामा पनि नगरप्रहरीलाई सूचना दिने बताइएको छ। इन्टरनेट नभएको अवस्थामा सम्बन्धित नगरप्रहरीको मोबाइलमा एसएमएस जानेछ।
नगरक्षेत्रको समस्या छिटो समाधान गर्नका लागि मोबाइल एपले पनि भूमिका खेल्ने विश्वास महानगरले लिएको छ।