दाङको देउखुरीमा दुई दिन लगातार विभिन्न दुई ठाउँमा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट एक जना साइकल चालक र अर्का पैदल यात्रुको मृत्यु भएको हो।
बुधबार बेलुकी लु ६ प ७७३ नम्बरको मोटरसाइकलको ठक्करबाट गढवा गाउँपालिका– ७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले जानकारी दिए।
मोटरसाइकल चालक गढवा – ६ बग्रापुरका सुनिल चौधरीसहित अर्का एक जना मोटरसाइकल चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा लु ६ प ७७३ नम्बरको मोटरसाइकल चालक सुनिल चौधरीका साथै पछाडि आइरहेको अर्को मोटरसाइकलले पनि घाइतेलाई ठक्कर दिएको आशंका भइरहेको हुँदा दुई जना चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिनु परेको प्रहरी निरीक्षक बुढाथोकीले बताए। तर, एक जना चालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
बुधबार बेलुकी साढे ७ बजेतिर राजपुरबाट गढवातर्फ आउँदै गरेको मोटरसाइकलले एकै दिशामा आइरहेको साइकललाई ठिक्कर दिएको थियो।
प्रहरी निरीक्षक बुढाथोकीका अनुसार गम्भीर घाइते चौधरीलाई लमही अस्पताल पुर्याउँदा चिकित्सकले चेकजाँचपछि मृत घोषणा गरेका थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अघिल्लो दिन अर्थात् मंगलबार राति मात्रै देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको थियो।
मंगलबार मध्यरातिमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२ –००२ प ४५४२ नम्बरको मोटरसाइकलले बाटो काट्ने लमही नगरपालिका –५ का ७० वर्षीय सोर बुढा मगरलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका बुढा मगरको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेले बताए।
मोटरसाइकल चालक लमही – ५ रातोडाँडाका सागर बुढा मगर प्रहरीले नियन्त्रणमा छन्।
दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।