चितवनमा बालिका मृत फेला परेको घटनामा पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया शालीन पोखरेल मृत फेला परेको घटनामा अनुसन्धान गर्न सोमबार जिल्ला अदालत चितवनले पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई प्रहरीले गत मंगलबार (फागुन १५ गते) पक्राउ गरेको थियो।
फागुन १२ गते बिहान होस्टेलको पंखामा शालीन मृत फेला परेका थिए।
मृतकका आफन्तले हत्या र बलात्कारको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।
उनीहरूलाई सुरूमा अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शालीनको झुण्डिएर मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका थिए। यद्यपि आफन्तले हत्या दाबी गरेपछि पोष्टमर्टम गर्न काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको थियो।
पोष्टमर्टमको रिपोर्ट आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा पुगेको थियो। उक्त रिपोर्टमा पनि शालीनको मृत्यु झुण्डिएर भएको उल्लेख थियो। महाराजगञ्जका डाक्टर गोपाल चौधरी नेतृत्वको टोलीले पोष्टमर्टम गरेका थिए।
त्यसैगरी प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको थियो। उनले आफ्नो नोटमा ‘एभ्रिबडी आई एम सरी!’ लेखेको प्रहरीले जनाएको छ।
यद्यपि यसको परीक्षण गर्न पनि प्रहरीले केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ।
शालीनको मृत्यु आत्महत्या हो भन्नेबारे प्रहरी विश्वस्त भएपनि सरकारी वकिल कार्यालय चितवनले पोष्टमर्टम र प्रयोगशालाको रिपोर्ट कुरेको हो। शालीनले लेखेको भन्ने यकिन भएपछि यसबारे थप निर्णय गर्ने तयारी सरकारी वकिलको छ। उक्त रिपोर्ट आइनसकेकाले प्रहरीले म्याद थपका लागि अनुमति मागेको हो।
यो पनि: प्रहरीको पहरामा पढिरहेका छन् शालीनका साथीहरू