नेपाल प्रहरीको पोलिग्राफ शाखाबाट ५ हजार बढीको परीक्षण भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार स्थापना भएदेखि यता १० वर्षको अवधिमा २ हजार ७ सय ७८ मुद्दाका ५ हजार ४ सय १७ जनाको पोलिग्राफ परीक्षण गरिएको हो।
यो परीक्षण अपराध अनुसन्धानमा महत्वपूर्ण रहेको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।
‘पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धानलगायत अन्य विभिन्न अनुसन्धानहरूमा महत्वपूर्ण टेवा पुगेको छ। हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणहरूले अनुसन्धानलाई निर्देशित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्यांकले देखाएको छ,’ उनले भने।
यस्तै, यसलाई प्रभावकारी बनाउन कर्मचारीलाई तालिम दिनेमा विशेष ध्यान दिइएको उनले बताए।
‘यसलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणहरूको प्रयोगलाई विशेष ध्यान दिने गरिएको छ। साथै, समयानुकूल पोलिग्राफ परीक्षण प्रभावकारिताको मूल्यांकन समेत गर्ने गरिएको छ,’ उनले भने।
व्यक्तिले बोलेका कुराहरूको सत्यता जाँच गर्ने प्रविधिलाई पोलिग्राफ भनिन्छ। यसलाई वैज्ञानिक भाषामा झुटो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिने उनले बताए।
काठमाडौं बबरमहल बस्ने पूर्वराजदूत केशवराज झाको २०७५ भदौ ६ गते हत्या भएको घटनाको अनुसन्धानको सिलसिलामा शंकास्पद व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरिएको थियो।
यसैगरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गत असोज २३ गते गोली हानेर हत्या भएको घटनाको अनुसन्धानको सिलसिलामा घटनामा संलग्न व्यक्तिको पोलिग्राफ परीक्षण गरिएको थियो।
त्यसैगरी काठमाडौंको रानीबारीस्थित इन्जिनियर दम्पती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको २०५९ असार ३१ गते कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरिएको थियो।
नेपाल प्रहरीमा २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागू भएपश्चात विधिवत पोलिग्राफ परीक्षण गर्न थालेको थियो।
पोलिग्राफ प्रि-टेष्ट, टेष्ट र पोष्ट टेष्ट गरी ३ चरणमा परीक्षण गरिन्छ।
पोलिग्राफ परीक्षण सञ्चालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ। शंकित व्यक्तिले झुट बोले/नबोलेको परीक्षणले संकेत गर्दछ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा १४३ वटा मुद्दाका २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ। तीमध्ये २६३ पुरूष र २७ महिला छन्।
उनीहरूमध्ये झुट बोलेको संकेत १०६ जना, झुटो नबोलेको संकेत १७० जना, राय दिन नसकेको अवस्था २ जना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणको लागि अपर्याप्त संकेत १ जनामा देखिएको छ।