कास्कीको किम्रुङखोलामा पहिरो खसेर पानी थुनिएपछि जिल्ला प्रहरीले मोदीखोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार मोदीखोलामा मिसिने किम्रुङखोला करिब ६ घण्टादेखि थुनिएको सूचना आएको छ।
खोला थुनिएको स्थान फुटेमा एक्कासि ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले प्रभावित क्षेत्रमा प्रहरीले माइकिङ गरेर स्थानीयलाई सचेत गराएको छ।
'किम्रुङखोलामा ६ घण्टादेखि पानी थुनिएको सूचना आएको छ। हामीले प्रभावित क्षेत्रका बासिन्दालाई माइकिङ गरेर सतर्क रहन भनेका छौं,' कार्कीले भने।
किम्रुङखोलाबाट आएको बाढीले पोखराबाट घान्द्रुक जाने बाटोमा पर्ने मोदीखोला क्षेत्रमा यसअघि नै दुइटा होटल बगाएको कार्कीले बताए।
उनका अनुसार थुनिएको पानी फुटेमा मोदीखोलामा अचानक बाढी आउन सक्छ, जसको असर नयाँपुल, वीरेठाँटी हुँदै पर्वत, स्याङ्जा र पाल्पासम्म नदी किनारका बस्तीमा पर्न सक्छ।
जल तथा मौसम विज्ञान विभागले पनि सम्बन्धित प्रशासनलाई सतर्क रहन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतले समेत किम्रुङखोला थुनिएको र बाँध फुटेमा मोदीखोलामा ठूलो बाढी आउन सक्ने सूचनापछि नदी किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरूङका अनुसार किम्रुङखोला अन्नपूर्ण साउथ क्षेत्रबाट बगेर झिनुमा पुगेर मोदीखोलामा मिसिन्छ।
उक्त क्षेत्र अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्छ। गाउँपालिकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको उनले बताए।
'किम्रुङखोलामा आधा पानी घटेको स्थानीयले बताएका छन्। माथि लेकतिर खोला थुनिएको हुनुपर्छ,' गुरूङले भने, ‘अहिले राति त्यहाँ गएर हेर्न सक्ने अवस्था छैन। प्रभावित क्षेत्रका मानिसलाई सतर्क रहन भनेका छौं।'
यसै वर्षायाममा किम्रुङखोलामा आएको बाढीले वीरेठाँटी र नयाँपुल क्षेत्रमा क्षति पुर्याइसकेको छ। किम्रुङखोला पर्वत हुँदै कालीगण्डकी नदीमा मिसिन्छ।
त्यसैले माथिल्लो क्षेत्रमा पानी थुनिएर एकैपटक फुट्ने अवस्था आयो भने त्यसको प्रभाव तल्लो तटीय क्षेत्रसम्म पर्न सक्ने स्थानीय प्रशासनको आकलन छ।