सुर्खेतमा आफ्नै सहोदर भाइमाथि कालोमोसो दलेको आरोपमा दाजु पक्राउ परेका छन्।
वीरेन्द्रनगर नगरपालिका–२ टेम्पो पार्कमा ६३ वर्षीय भाइ नारायणप्रसाद शर्मालाई मोसो दलेको आरोपमा उनका सहोदर दाजु ६७ वर्षीय लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार बिहान करिब ९ बजेतिर जग्गाको विषयलाई लिएर सहोदर दाजुले आफ्नै भाइलाई सार्वजनिक स्थलमा बेइज्जत गर्ने गरी मोसो दलेका थिए।
सूचनाको आधारमा प्रहरी चौकी बाङगेसिमलबाट प्रहरी सहायक निरीक्षक टिकाराम थापाको कमाण्डमा पुगेको प्रहरीले भाइलाई मोसो दल्ने दाजुलाई नियन्त्रणमा लिएको थियो।
पक्राउपछि आरोपी दाजुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षमा राखिएको छ।
साथै केहीबेर अघि मात्रै भाइलाई मोसो दल्ने लक्ष्मणका छोरा ४० वर्षीय युवराज शर्मालाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।