ललितपुर महानगरपालिकाले कुसुन्ती चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माणकार्य सुरू गरेको छ।
सोमबार ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले उक्त आकाशे पुलको शिलान्यास गरेका हुन्।
भदौमा सडक विभागले महानगरलाई पुल निर्माणका लागि सहमति दिएको थियो। चक्रपथको यस क्षेत्रमा अत्यधिक दुर्घटना हुने हुँदा सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको मेयर महर्जनले बताए।
‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरै जनाको अकालमा ज्यान गएको छ,' मेयर महर्जनले भने, 'त्यसैले महानगरले यो ठाउँमा आकाशे पुल बनाउने निधो गरेका हो।’
अन्य ठाउँमा शारीरिक स्वस्थ्य व्यक्तिका लागि समेत असहज भइरहेको अवस्थामा यहाँ लिफ्टसहितको आकाशे पुल निर्माण गरिएको उनको भनाइ थियो।
उक्त पुलले बालबालिका, ज्येष्ठ नागरिकलगायत सबैलाई सहजता प्रदान गर्ने मेयर महर्जनको विश्वास छ।
ललितपुर महानगर-१३ स्थित निर्माण भइरहेको पुल एक वर्षमा बन्ने महानगरले बताएको छ।
उक्त आयोजना निर्माणको ठेक्का लामा प्रगति-मनि बुद्ध जेभि, काभ्रेसँग चार करोड ६८ लाखमा सम्झौता भएको छ।