सुर्खेतमा दुई जना पुरूषको छुट्टाछुट्टै स्थानमा पुरूषको शव फेला परेको छ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगर र लेकवेशीमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटीकोइलीमा अन्दाजी ३२ वर्षीय अनिल पटेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए।
बारा सिम्रौनगढ नगरपालिका-५ का पटेल विगत चार वर्षदेखि सुर्खेतमा बस्दै आएका थिए।
उनी वीरेन्द्रनगरमा मजदुरी गर्थे। भाडामा बसिरहेको कोठामै उनी मृत फेला परेका हुन्। उनको घाँटीमा चोट रहेको र नजिकै चुलेसी फेला परेको डिएसपी शाहीले बताए।
त्यस्तै मंगलबार नै लेकवेशी नगरपालिका-७ मा स्थानीय ३१ वर्षीय बालकृष्ण खाम्चाको शव फेला परेको छ।
आफू बस्ने घर नजिकै निर्माणाधीन घरमा उनको शव फेला परेको डिएसपी शाहीले बताए।
उनका अनुसार खाम्चाको टाउकोमा सामान्य चोट पनि देखिएको छ।
दुबै घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ। शव पोष्टमर्टमको लागि प्रदेश अस्पताल लगिएको छ।