सिन्धुपाल्चोकमा सुनको जलप लगाइएको तामासहित एक जना पक्राउ परेका छन्।
बाह्रबिसे नगरपालिका वडा नम्बर ३ खुर्सानीबारीबाट प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए।
उनका अनुसार इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोली सोमबार नियमित चेकिङका लागि बसेको थियो।
चेकपोष्टमा तातोपानीबाट बाह्रबिसेमा भे ११ प ५५८८ नम्बरको मोटरसाइकल आएको थियो। जसमा भोटेकोशी गाउँपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय थर्चेन तेम्बा तामाङ सवार थिए।
उनको व्यवहार अस्वभाविक देखेपछि प्रहरीले उनको शरीरमा तलासी लिएको थियो।
उनीबाट प्रहरीले सुन जस्तो पहेँलो धातु बरामद गरेको थियो। सुनको बिस्किट आकारमा रहेको धातुमा ९९९.९ उल्लेख गरिएको थियो।
त्यसको परीक्षण गर्न प्रहरीले सुन चाँदी व्यवसायीलाई गराएको थियो।
‘सुन-चाँदी व्यवसायी संघलाई परीक्षण गराएपछि बाहिर सुनको लेपन गरिएको र भित्र तामा राखिएको खुलेको छ,’ एसपी खड्काले भने।
प्रहरीले उनीबाट मोटरसाइकल, चार हजार रुपैयाँ, मोबाइल, चेकबुक, राहदानी, नागरिकता पनि प्रहरीले बरामद गरेको छ।
तामाङले उक्त लेपन लगाइएको तामा कुन प्रयोजनका लागि ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीमाथि कुन शीर्षकमा म्याद थप गरी अनुसन्धान गर्ने भन्नेबारे पनि प्रहरीले बुझिरहेको छ।
‘कुन प्रयोजनका लागि ल्याइएको र ककसको संलग्नता छ भन्नेबारे अनुसन्धान हुन्छ,’ एसपी खड्काले भने।