स्थानीय आर्थिक विकासमा बुटवल उपमहानगरपालिका देशकै सर्वोत्कृष्ट घोषित भएको छ।
आर्थिक वर्ष २०७९-८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वोत्कृष्ट भई म्युनिसिपल एक्सिलेन्स अवार्ड पाएको हो।
नेपाल नगरपालिका संघले बुटवल उपमहानगरपालिकालाई उक्त अवार्ड प्रदान गरेको हो।
काठमाडौंमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई पुरस्कार हस्तान्तरण गरेका हुन्।
काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो। तीमध्ये बुटवलले स्थानीय आर्थिक विकासतर्फ देशका सबै स्थानीय तहलाई उछिनेको हो।
नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरिहेको बताए। देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको नगरप्रमुख पाण्डेयले बताए।
‘बुटवलमा विकास र परिवर्तनको यात्रा सुरू भएको मात्र होइन विकासको स्पष्ट मार्ग चित्र पनि देखिन थालेको छ, नगरलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दललगायत सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।
नगरप्रमुख पाण्डेयले बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएको बताए।
‘हाम्रो मुख्य कार्यभार बजेटको कार्यान्वयन र योजना सम्पन्न गर्ने मात्र नभई बुटवलवासीलाई सुशासन र विकासको अनुभूति दिलाउनु हो,’ उनले भने।
नगरप्रमुख पाण्डेयले उपमहानगरले नागरिकका आवश्यकतालाई दृष्टिगत गर्दै सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवा सुरू गरेको बताए।
बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ६० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपांगता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधी वितरणलगायतका कार्यक्रम नागरिकको घरदैलोमै पुर्याइएको पाण्डेयले दावी गरे।