एक बालकको उपचारका क्रममा मृत्यु भएपछि घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा तनाव उत्पन्न भएको छ।
राजपुर गाउँपालिका-१ पटौली नाकाका ९ वर्षीय सुरेश कुँवरको उपचारको क्रममा मृत्यु भएपछि तनाव उत्पन्न भएको हो।
घाँटीको समस्या देखेर आफन्तले कुँवरलाई बुधबार बिहान अस्पतालमा पुर्याएका थिए। चिकित्सकको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तहरूले अस्पताल घेराउ गरेका छन्। उनीहरूले अस्पताल तोडफोडको प्रयास गरेपछि प्रहरी समेत खटिएका छन्।
‘घाँटीमा दुईतिर दाना जस्ता गोला मासुहरू देखिएको हुँदा हिजो बेलुका नै घोराही आई आफन्तकोमा बसी बिहानै बाबुलाई अस्पताल लगेका थियौं,’ एक आफन्तले भनिन्, ‘अस्पतालका डाक्टरले घाँटीमा पिप जमेको हुनुपर्ने भन्दै सुइँबाट तान्नुपर्ने भन्दै भित्र लैजानु भएको थियो, तर केही बेरमै बाबुको नाक र मुखबाट रगत बग्न थालेको भन्दै उहाँ आत्तिँदै बाहिर आउनु भएको थियो।’
रगत बग्नेक्रम नरोकिएपछि उपचारमा संलग्न चिकित्सक आत्तिँदै आफन्तलाई बालकलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा लैजान आग्रह गरेका थिए। तर, अत्यधिक रक्तस्राव भइरहेको अवस्थामा कसरी लैजाने? भनेर आफन्तले भनेपछि फेरि उनै चिकित्सकले त्यसो भए आफूहरूलाई बाहिरै बस्न भन्दै उपचार थालेको ती आफन्तले बताइन्।
त्यही उपचारका क्रममा बालकको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण घटना भएको भन्दै हस्पिटल घेराउ गर्दै तोडफोडको प्रयास गरेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले हस्पिटलमा तत्काल प्रहरी पुगेर हस्पिटल तोडफोड हुनबाट जोगाएको बताए।
अहिले समस्या समाधानका लागि प्रहरी प्रशासनको रोहवरमा मृतक बालकका आफन्त, हस्पिटल प्रशासनका बीचम वार्ताको तयारी भइरहेको डिएसपी मल्लले बताए।
‘बालकका आफन्तले टन्सिलबाट पीडितलाई पिप जमेको भन्दै सुइँले तान्न खोज्दा समस्या भएको जिकिरका साथ दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै आउनु भएको छ,’ डिएसपी मल्लले भने, ‘दिनभरजसो तनावयुक्त बनेको हस्पिटलमा अहिले वार्ताको पहल भइरहेको छ।’
स्रोतका अनुसार बालकका आफन्तले हप्ता दिन अघि पनि बालकलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याएका थिए।
त्यहाँका चिकित्सकले सामान्य समस्या रहेको भन्दै हप्ता दिन औषधि खाए ठिक हुने भन्दै औषधि दिएर घर पठाइदिएका थिए। दिएको औषधि सेवन गर्दा पनि बच्चाको घाँटीको समस्या समाधान नभएपछि अभिभावकले बालकलाई उपचारका लागि बुद्ध हस्पिटलमा पुर्याएका थिए।
घटनाबारे बुझ्न खोज्दा अहिले छलफल चलिरहेकोले पछि मात्र बताउने अस्पताल प्रशासनले जनाएको छ।