नव नियुक्त गृह सचिव एकनारायण अर्यालले सरूवा, बढुवा र पदस्थापनमा भनसुन गर्ने प्रहरी अधिकारी र गृह प्रशासनका कर्मचारीहरूलाई कारबाही गरिने चेतावनी दिएका छन्।
गृह मन्त्रालयमा बुधबार कार्यभार सम्हाल्दै उनले गृह प्रशासनलाई 'चेन अफ कमान्ड' मा राखिने र त्योभन्दा बाहिर जान खोज्नेलाई कारबाही गरिने चेतावनी दिएका हुन्।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारीहरूलाई लक्षित गर्दै सचिव अर्यालले सरूवा, बढुवा र पदस्थापनमा भनसुन गर्ने कष्ट नगर्न आग्रह गरे।
'गृह प्रशासनको साख उच्च बनाइनेछ। टिमवर्कमा काम गरिनेछ। गृह प्रशासनलाई एकताबद्ध बनाएर बिचौलियालाई ध्वस्त पारिनेछ,' उनले भने।
सचिव अर्यालले सिडिओ सरूवाको निश्चित मापदण्ड बनाउने पनि बताए। त्यस्तै गृह प्रशासनमा राजनीतिक दबाब अस्वीकार्य हुने भन्दै उनले कार्यसम्पादनमा उत्कृष्टता ल्याउने बताए।
अर्याललाई सोमबारको मन्त्रिपरिषद बैठकले गृहसचिवको जिम्मेवारी दिएको हो।