धरानबाट भोजपुर जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रदेश प्रहरीका एसपी दिपक पोखरेलका अनुसार उदयपुरको वेलका नगरपालिका– ७ स्थित एउटा भीरबाट गाडी खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको हो।
बिहीबार बिहान करिब साढे १० बजेतिर को १ ज २५९३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा थप सात जना गम्भीर घाइते छन्।
दुर्घटनाका मृतकहरूको पहिचान खुलिसकेको छैन।
दुर्घटनामा जिपबाट उछिट्टिएका पाँच जना जति घाइतेहरूलाई कोशी नदीमा चल्ने जेट बोटमा हालेर उपचारका लागि लगिएको छ। जिपमा एउटै घरका चार जनासहित १४ जना यात्रु रहेको खुलेको छ।
उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले घाइते सात जनाको उद्धार गरेर अस्पताल पठाएको बताए।
‘घाइते सात जनाको उद्धार गरेर हामीले अस्पताल पठाएका छौं। उद्धार चाहिँ सकिएको छ। बोलेरो जीपले थिचेका, च्यापिएका शवहरू निकाल्ने प्रयास गरिरहेका छौं। शव संकलन गरिरहेका छौं,’ उनले भने।
उनका अनुसार दुर्घटना वेलका-७ मा रहेको घटनास्थल भोजपुर र उदयपुरको सीमा क्षेत्रको विकट ठाउँमा भएको हो।
‘त्यहाँबाट हाम्रो प्रहरी चौकी पनि २५ किलोमिटर टाढा छ। हाम्रो टोली पुगेर काम गरिरहेको छ। हामीले थप टोली पनि घटनास्थल पठाएका छौं,’ उनले भने।