उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ मा गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित सात जनाको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।
मृतकहरूमध्ये जीपका चालक मानबहादुर बस्नेतको पहिचान खुलेको छ। अरु यात्रुको सनाखत हुन सकेको छैन।
‘चालकको नामबाहेक अरुको सनाखत हुन सकेको छैन’, एसपी रमेश थापाले भने, ‘अहिले पनि हामी शव संकलनकै क्रममा छौं।’
बिहीबार बिहान करिब साढे १० बजेतिर उदयपुरको बेलका ७ बाट भोजपुर जोड्ने चुहार पुल पुग्न अघिको कच्ची सडकमा जिप दुर्घटना भएको हो।
जिप सडकबाट खोचमा खसेको थियो। यात्रुहरूलाई भिरबाट उद्धार गरिएको थियो।
दुर्घटनामा घाइते भएका सात जनालाई भने चुहार मोटरवेल पुल निर्माण कार्यमा खटिएका मजदुर र स्थानीयले उद्धार गरेर कोशी नदीमा चल्ने जेट बोटमा हालेर उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका छन्।
धेरैजसो यात्रु भोजपुरको आमचोक गाउँपालिकाका बासिन्दा हुन सक्ने अनुमान प्रहरीको छ। जिपमा एकै घरका चार जनासहित १४ जना यात्रु रहेको स्थानीयले जानकारी दिएका छन्।