उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले दिएको जानकारीअनुसार धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो जिप सडकबाट तल खस्दा दुर्घटना भएको थियो।
प्रहरीका अनुसार बिहान साढे १० बजेतिर भएको दुर्घटनामा जीपका चालक इटहरी १६ का ४२ वर्षीय मानबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो।
त्यस्तै भोजपुर हतुवागढी गाउँपालिका २ की ७० वर्षीया पर्वतमाया राई, सोही ठाउँका २३ वर्षका चन्द्रप्रकाश राई, उनका ६ महिनाका छोरा डिसाङ राईको पनि घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थलमै ज्यान गुमाउनेहरुमा भोजपुर हतुवागढी ९ का ६८ वर्षीय पदमबहादुर थापा , हतुवागढी ५ की ३० वर्षीया रामकुमारी राई र इटहरीका कमल अधिकारी छन्।
अधिकारीको उमेर नखुलेको प्रहरीले जनाएको छ।
त्यस्तै भोजपुर हतुवागढी ५ का ४२ वर्षीय किसान राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ। सात जना घाइतेहरुको धरानमा उपचार जारी छ।
मोरङ कानेपोखरी ५ का बिशेष पराजुली, भोजपुर आमचोक ६ की मिनु राई साबित्रा राई र इटहरी १७ की गात्री कटवाल घाइते छन्।
गाउत्री थापाकी ८ वर्षकी छोरी निकिता , हतुवागढी २ की शान्ति राई, इटहरी १७ की रमा थापा , हतुवागढी १का सुनिल परीयार र सबिना परियार पनि घाइते छन्। उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ।