गाउँ–गाउँमा गएर पैसा बाँड्दै सर्वसाधारणको सम्पूर्ण व्यक्तिगत विवरण लगेर ठग्दै हिँड्ने बंगलादेशी नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ।
मोरङ प्रहरीको पक्राउ गरेको बंगलादेशी नागरिकसँग नेपाली नागरिकताको प्रमाणपत्र अनि त्यसैका आधारमा बनेको राहदानी फेला परेको हो।
प्रहरीका अनुसार उनीहरुले नेपालीहरुको नागरिकताको फोटो खिच्ने, अन्य कागजातहरुको फोटो खिच्ने र त्यसको बदलामा पैसा दिने अनि त्यही कागजातको फोटोको आधारमा अनलाइन ठगी गर्ने गरेको पाइएको छ।
यो समूहले गएको फागुन २८ मा मोरङको सुन्दरहरैंचा –८ स्थित सलकपुरमा स्थानीयबासीलाई भेला गरेर रकम बाँड्दै गरेको थियो। त्यही बेला प्रहरीले उनीहरुलाई समातेको हो।
त्यसक्रममा पक्राउ परेकामध्ये एक वंगलादेशी नागरिकसँग नेपालको नागरिकता र राहदानी फेला परेको प्रहरीले जनाएको छ ।
काडमाडौ नयाँ बजारकी २३ वर्षीया सुनिता खत्रीलाई २९ गते मोरङको सलकपुरबाटै प्रहरीले पक्राउ गरेको थियो। खत्रीको बयानका आधारमा वंगलादेशी नागरिकद्वय ४९ वर्षीय मोहमद महबुर हुसेन र ३७ वर्षीय मोहमद तानवीर हुसेनलाई प्रहरीले पक्रेको हो।
तानवीरको साथबाट ‘तानवीर मिया दर्जी’ नामको नागरिकता र राहदानी फेला परेको हो।
२०६३ सालमा रौतहट जिल्लाबाट बनाएको नागरिकता भएकाले वंगलादेशी नागरिककै हो होइन भन्ने थप प्रमाणको खोजीमा लागिएको इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक तेजबहादुर दाहालले बताए।
वंगलादेशी नागरिकले नेपाली युवतीको प्रयोग गरी नेपालीहरुको नागरिकताको प्रतिलिपि संकलन गरेर अनलाइन ठगीको कारोबार गरेको प्रहरीको अनुमान छ।
उनीहरुले आफूलाई अन्तर्राष्ट्रिय परोपकारी संस्थाको प्रतिनिधि बताउँदै ग्रामीण भेगका बासिन्दालाई रकम दिएर नागरिकताको फोटो खिचेर लगेका थिए। गिरोहले ब्यक्तिगत पहिचानको परिचयपत्र लिएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ।
उनीहरुले रकम दिएर ३० जना भन्दा बढीको नागरिकताको फोटो खिचेर लगेका थिए।
सो गिरोहले आफूहरु परोपकारी संस्था ‘डब्लूबीएससी’ का प्रतिनिधि भएको जनाएर स्थानीयलाई एक हजार र १५ सय रुपैंयाँका दरले रकम बाँडेका थिए।
नागरिकताको प्रयोग गरी सो गिरोहले डिजिटल वालेटहरुको खाता खोलेर ई–सेवा र खल्तीमा रकम जम्मा गर्ने उद्देश्य रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए।
काठमाडौंमा गार्मेन्ट उद्योगमा काम गर्ने वंगलादेशीद्वयले नागरिकता संकलन गर्न केही दिनअघि नै खत्रीलाई लिएर मोरङ आएका थिए। उनीहरुको साथबाट प्रहरीले एनसेलको १५ वटा सीमकार्ड फेला पारेको छ।