नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का दुई जना डिएसपी प्रहरी प्रधान कार्यालय तानिएका छन्।
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेसँगै डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल प्रहरी प्रधान कार्यालय तानिएको स्रोतले जानकारी दियो।
गृहमन्त्री लामिछानेले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष उक्त प्रतिवेदन बुझाएका थिए।
प्रधानमन्त्री प्रचण्डले आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही गर्न अगाडि बढ्न निर्देशन दिएपछि गृहमन्त्री लामिछानेले आज बिहान नै दोषी देखिएका प्रहरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी महानिरीक्षक बसन्त कुँवर र गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएका थिए।
यस्तै, सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको छ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो।
सुन तस्करी जाँचबुझ आयोगले चैत १ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयन प्रक्रियामा लैजाने मन्त्रिपरिषद बैठकले निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।