जिल्ला प्रहरी कार्यालय सर्लाहीले एकै दिन २०२ फरार अभियुक्त पक्राउ गरेको छ।
विभिन्न अपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अभियुक्तलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो।
जिल्ला अदालतको बेरूजु फछ्र्यौट गर्न र फैसला कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठूलो सङ्ख्यामा फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीले बताए।
उनीहरूलाई शुक्रबार नै अदालतमा हाजिर गराई कैद भुक्तानीका लागि जेल चलान गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीको भनाइ छ।
पक्राउ परेका उनीहरूलाई एक दिनदेखि साढे तीन वर्षसम्मको कैद सजाय र एक सय रुपैयाँदेखि ३ लाख ६३ हजारसम्म जरिवाना तोकिएका व्यक्ति छन्।
पक्राउ पर्नेमा कुटपिट, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, भ्रष्टाचार, जुवा र गाली बेइज्जती मुद्दासँग सम्बन्धित छन्।
‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन र कानूनी दायराबाट उम्कन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ प्रहरी उपरीक्षक ज्ञवालीले भने, ‘हामी पुराना फाइल हेर्दैछौं। दोषी ठहर भएका तर सजाय नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउँछौं।’