पश्चिम नवलपरासीमा हजुरबुवा र नातिको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
फागुन १ गते बिहान पौने ६ बजे सुस्ता गाउँपालिका-३ मर्चहवास्थित गण्डक बाँधको जग्गामा कुटि बनाएर बसेका हजुरबुवा र नाति मृत फेला परेका थिए।
७० वर्षीय अक्षयलाल चमार र उनका १२ वर्षीय नाति गौचरणमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो।
उनीहरूको हत्या अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय अजयकुमार अधिकार र २० वर्षीय चन्दन हरिजन छन्। उनीहरू दुबै जनालाई सिआइबीले शनिबार पक्राउ गरेको हो।
यस घटनाको अनुसन्धानका लागि सिआइबीसँगै जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र इलाका प्रहरी कार्यालय बेलाटारीको टोली पनि खटिएको थियो। पक्राउ परेकामाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाइसकेको छ।
एसपी होबिन्द्र बोगटीका अनुसार सुरूमा हजुरबुवा र नातिको हत्या गर्ने योजना चन्दन र अजयकुमारको थिएन। उनीहरूले अर्कै व्यक्तिको हत्या गर्ने योजना बनाएका थिए।
प्रहरीका अनुसार चन्दनले मर्चहवामै बस्ने एक जनाको छिमेकीको मोटरसाइकलमा हिर्काएका थिए। माघ २६ गते मापसे गरी हिँडेका चन्दनले छिमेकीको मोटरसाइकलमा हिर्काएपछि झगडा परेको थियो।
त्यही विषयमा इलाका प्रहरी कार्यालय बेलाटारीमा समेत निवेदन परेको थियो। निवेदनपश्चात माघ २८ गते दुई पक्षबीच छलफल समेत भएको थियो।
त्यही विषयलाई लिएर चन्दनले बदला लिने रिसिइबी राखेका थिए। त्यसपछि ती छिमेकीको हत्या गर्ने योजना बनाएर त्रिवेणी नाहन मेलाको मौकामा पारेर चन्दनले आफ्ना साथी अजयकुमारलाई भारतबाट चक्कु खरिद गरी ल्याउन लगाएका थिए।
माघ २९ गते उनीहरू दुबै जना अक्षयलाल चमारको घर नजिकै पुगेका थिए। त्यहाँ गएर झगडा परेका छिमेकीलाई कुरेर बसे। तर त्यहाँ ती व्यक्ति आएनन्। छिमेकी नआएपछि उनीहरूले योजना नै परिवर्तन गरेको एसपी बोगटीले बताए।
अक्षयलाल चमारको हत्या गर्ने र त्यसको दोष ती व्यक्तिमाथि लगाउने योजना बनाएका थिए। त्यसअनुसार उनीहरूले अक्षयलालको हत्या गरेका थिए। तर त्यही कुटीमा नाति सुतिरहेका थिए। तर घटनाको क्रममा नातिले
उनीहरूलाई देखेपछि १२ वर्षीय बालकको समेत हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरूबाट प्रहरीले चक्कु, पञ्जा, कपडा लगायत बरामद गरेको छ।