सत्ता साझेदार एकीकृत समाजवादीले अन्योलमा नपरी महाधिवेशनमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ।
एकीकृत समाजवादीले जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन आयोजना गर्दैछ।
फागुन २१ गते गठबन्धन बदलिएसँगै उसले यसबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको हो।
‘हाम्रो पार्टी हिजो एउटा गठबन्धनमा सरकारमा थियो भने आज बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा छ। हाम्रा मन्त्रीहरुबाट परिणाममुखी काम होऊन्, सरकारले राम्रो काम गरोस्, जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न सकियोस् भनेर हामीले प्रयास गर्नुपर्छ। त्यसका लागि हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नु पर्छ। तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ,’ आइतबार जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) मा भनिएको छ।
नेपाली कांग्रेस सम्बद्ध अर्थमन्त्रीबाट असहयोग भएको, राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट अन्तरघात भएको, नेपाली कांग्रेसको महासमिति बैठकमा संविधान विरुद्ध हस्ताक्षर भएकोलगायत कारण देखाउँदै प्रधानमन्त्रीले समिकरण परिवर्तन गरेर चार दलका बीचमा समझदारी गरेपछि मात्रै हाम्रो एकीकृत समाजवादीसँग संवाद भएको अपानिमा उल्लेख छ।
‘एकातिर प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत नपाएको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सरकार बन्ने र त्यसबाट पनि राजनीतिक स्थिरताको प्रत्याभूति नहुने, अर्कोतिर हाम्रो अस्तित्वलाई स्वीकार नगरेको नेकपा एमाले समेतको नयाँ समिकरणले हामीलाई सरकारमा सहभागी हुन आग्रह गरेको र सरकार सञ्चालनका नीति तथा कार्यक्रमहरुमा हाम्रो पार्टीलाई समानरूपले सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेपछि पार्टी सचिवालयले त्यसप्रति सकारात्मक हुँदै वार्ता गर्ने निर्णय गर्यो। वार्ताका क्रममा हामीले उठाएका राष्ट्रिय महत्त्वका विषयमा छलफल गर्दा प्रधानमन्त्रीले सहमति जनाएपछि पार्टीले सरकारमा दुई जना मन्त्री पठाएको छ,’ अपानिमा भनिएको छ।
अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वाभाविक भए पनि त्यसले पार्टीको अभियान र महाधिवेशन प्रभावित पार्नु हुँदैन भन्ने कुरामा सम्पूर्ण पार्टी पंक्ति स्पष्ट हुनुपर्ने पनि उसले बताएको छ।