कर्णाली पुलमा आगलागीबाट क्षति पुगेको एक हप्तापछि सवारीसाधन एकतर्फी सञ्चालनमा आएको छ।
सोमबार बिहान पौने ९ बजेबाट एकतर्फी रूपमा सवारीसाधन संचालन गर्न थालिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुलसीराम अर्चालले सेतोपाटीलाई बताए।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले प्राविधिक तथा इञ्जिनियरहरूसँग सल्लाह गरेपछि सवारीसाधन एकतर्फी सञ्चालन गर्न अनुमति दिइएको थियो।
‘इञ्जिनियर र पुल प्राविधिकहरूको सल्लाह अनुसार प्रजिअ खरेलले एकतर्फी रूपमा पुलमाथि सवारीसाधन संचालन गर्न दिने निर्णय गर्नु भएको हो,’ डिएसपी अर्यालले भने, ‘आगलागी पछि पुलमा भएको क्षतिको प्राविधिक विश्लेषण गरी पुलमा एकतर्फी रूपमा सवारीसंचालन गर्न दिने अनुमति प्रदान गरिएको हो।’
गत सोमबार बेलुकी साढे चार बजेतिर लाइटर बोकेको ट्रकमा एक्कासी आगो लागेको थियो। वीरगंजबाट धनगढी जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रक र ट्रकको सबै सामान जलेर नष्ट भएको छ। त्यसयता वैकल्पिक मार्गबाट सवारी आवागमन भइरहेको थियो।
पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरिगाउँको वैकल्पिक मार्ग हुँदै संचालन भइरहेको थियो।
पुलमा पुगेको क्षतिको जाँच तथा अध्ययनका लागि मेसिनसहित मंगलबार बुटवल र काठमाडौंबाट एउटा टोली त्यहाँ पुगेका थियो। मध्य सडक डिभिजन कार्यालय बाँके नेपालगञ्जका डिभिजन प्रमुख निरज शाक्यले आगलागीबाट पुलमा सपोर्ट डोरीका बाहिरी भाग (रबरहरू) जले पनि भित्री भागमा ठूलो क्षति नपुगेको बताएका थिए।
सिडिई शाक्यले पुलमाथि उवडखाबड रहेका कारण त्यो ढलान तथा मर्मत गर्नका लागि चैत ३ गतेसम्म पुलबाट हुने सवारी आवागमन बन्द गरिएको पनि सेतोपाटीलाई बताएका थिए।
पुल पुनः एकतर्फी रुपमा संचालन गर्न अनुमति दिइएपछि घुमेर यात्रा गर्नु पर्दा कम्तिमा ५० मिटर दुरी छोट्टिएको छ।